दमाैली । जबरजस्ती करणी अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको थुनामा रहेका नायक पल शाह विरुद्ध तनहुँ अदालतबाट म्याद थप भएको एक साता पुगेको छ । गत फागुन १५ गते आफै प्रहरी कार्यालयमा उपस्थित भएका शाह विरुद्ध प्रहरीले सोही दिन अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरेको थियो ।
एक साताको म्याद शनिबार सकिएको छ । सम्भवतः प्रहरीले आइतबार पुनः शाह विरुद्ध अदालतबाट म्याद थपको तयारी गरेको छ । प्रहरी स्रोतका अनुसार अनुसन्धान नसकिएकाले शाहविरुद्ध पुनः म्याद थप गरी अनुसन्धानलाई अगाडी बढाइनेछ । शाह विरुद्ध गैडाकाेटमा पनि जबरजस्ती करणीकाे जाहेरी परेकाे छ ।
शाह प्रहरी हिरासतमा रहेदेखि नै शाहका पक्षमा जिल्ला प्रहरी कार्यालय अगाडी नाराजुलुस भएको थियो । काठमाडौबाट आएका केही युट्युवेहरुले आफै नारा लगाएर शाहको पक्षमा माहोल बनाएका थिए । यद्यपि दुई दिन अगाडीदेखि भने प्रहरी कार्यालय सुनसान छ ।
१७ वर्षीया गायिकालाई जबरजस्ती गरेको अभियोगमा पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेका छन् । त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबरजस्ती करणी गरेको जाहेरीमा भनिएको छ ।
जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरितको कसुर अपराधमा कडा भन्दा कडा कारवाही गरी कानून बमोजिम गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।