सदरमुकाममा दक्ष जनशक्ति सहित वारुणयन्त्र तयारी अवस्थामा राख्न माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सदरमुकाममा दक्ष जनशक्ति सहित वारुणयन्त्र तयारी अवस्थामा राख्न माग

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७८, सोमबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–४ स्थित भूपाल हार्डवेयरमा आइतबार लागेको आगो निभाउन चार घण्टा लाग्यो । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले ज्योति जनरल सप्लायर्स हुँदै नजिक रहेका घरहरुमा समेत क्षति पुग्यो । आगलागीको केही समयमा व्यास नगरपालिकाको वारुणयन्त्र घटनास्थल पुग्यो । छिर्न नमिल्ने साँघुरो गल्ली, मानिसको भिडभाडले गर्दा वारुणयन्त्र प्रयोगमा केही समय बाधा समेत पुग्यो ।

    व्यासको वारुणयन्त्रले आगलागी नियन्त्रणका लागि पानीको फोहोरा फ्याँकेपनि त्यो प्रभावकारी नदेखिएको भन्दै स्थानीयवासीले सदरमुकाममा आधुनिक प्रविधि सहितको वारुणयन्त्र तयारी अवस्थामा राख्नुपर्ने माग गरेका छन् । आइतबारको घटनाले ठूलो पाठ सिकाएको भन्दै आगामी दिनमा यस्ता घटनामा थप क्षति हुन नदिन दक्ष जनशक्ति सहित आधुनिक प्रविधिको वारुणयन्त्र तयारी गर्नुपर्ने स्थानीयवासीको माग छ ।

    तनहुँ उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले आगलागी नियन्त्रणका लागि व्यासको वारुणयन्त्र खासै प्रभावकारी नदेखिएको बताए । “न दक्ष जनशक्ति छ नत वारुणयन्त्र नै, पोखराबाट दुई वटा वारुणयन्त्र नआएको भए ठूलो क्षति हुने रहेछ,” उनले भने । सदरमुकाममा रहेको नगरपालिकाले पाठ सिकेर आधुनिक वारुणयन्त्रको व्यवस्था गर्नुपर्छ । त्यसका लागि निजी क्षेत्र नगरपालिकासँग सहकार्य गर्न तयार रहेको उनले बताए ।

    स्थानीवासी रजाक मियाँले जिल्लामा पर्याप्त बारुणयन्त्र नभएर अन्यत्रबाट मगाउनुपर्ने अवस्था विडम्बनापूर्ण रहेको बताए । “सदरमुकाममै यस्तो अवस्था भएपछि भोलि फेरि आगलागीका घटना हुँदा ठूलो क्षति हुन सक्छ, बेलैमा तयारी गर्नुपर्छ,” उनले भने ।

    भूपाल हार्डवेयरको टहरा भत्काएर पोखरा, चितवन लगायतबाट मगाइएको बारुणयन्त्र आगलागी नियन्त्रणका लागि परिचालन गरिएको थियो । आगलागी नियन्त्रणका लागि बारुणयन्त्रका साथै काठमाडौबाट हेलिकप्टर ल्याएर मादीको पानी प्रयोग गरी आकाशबाट पानी खसालिएको थियो ।

    तनहुँका अधिकांश स्थानीय तहमा बारुणयन्त्र छैन । बन्दीपुरमा भारत सरकारले बारुणयन्त्र दिएपनि उक्त बारुणयन्त्र प्रयोगमा नआइकन बिग्रिएर थन्किएको छ । अन्य स्थानीय तहले अहिलेसम्म बारुणयन्त्र व्यवस्थापनका लागि पहल गरेका छैनन् ।