दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँसुरलाई ऐतिहासिक पर्यटकीय गन्तव्यस्थल बनाउन पहल गरिएको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले मङ्गलबार आयोजना गरेको महिला हाफ म्याराथनको दमौलीमा उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले उक्त कुरा बताएका हुन् ।
“तनहुँसुर इतिहास बोकेको ठाउँ हो, यसको विकासका लागि सबै लागिपरेका छौ,” उनले भने । व्यासगुफा र तनहुँसुरलाई जोड्न आयोजित हाफ म्याराथनले यसको महत्व उजागर गरेको पौडेलको भनाई थियो ।
वरिष्ठ नेता पौडेलले तनहुँसुरसम्म पुग्ने सडक कालोपत्र गरिएको भन्दै थप विकासका लागि पनि नगरपालिकाले काम गर्न बाँकी रहेको बताए।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलको माध्यमबाट पर्यटनको प्रबद्र्धनका लागि दौड आयोजना गरिएको बताए। व्यासको नाम रहेको व्यासगुफा र तनहुँको नाम रहेको तनहुँसुर जोड्ने प्रयास गरिएको उनले बताए ।
उपप्रमुख मीरा जोशीले महिला पनि पुरुष सरह सक्षम छन् भन्ने सन्देश दिन महिला हाफ म्याराथन आयोजना गरिएको बताइन्।
व्यास–३ व्यासगुफादेखि सुरु दौड व्यास–११ तनहुँसुर पुगेर टुङ्गिनेछ । प्रतियोगितामा ५१ धावकको सहभागिता रहेको छ । महिला हाफ म्याराथनमा प्रथम हुनेलाई रु ४१ हजार ७८, द्वितीय हुनेलाई रु ३१ हजार ७८, तृतीय हुनेलाई रु २१ हजार ७८ र सान्त्वना हुने पाँच जनालाई रु ११ हजार ७८ पुरस्कार प्रदान गरिने व्यास-५ का वडाध्यक्ष एवं नगर खेलकुद विकास समितिका संयाेजक माेहनकुमार श्रेष्ठले जानकारी दिए ।
व्यासगुफादेखि अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, वनकार्यालय, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरवारसम्म दौड हुनेछ । उक्त दूरी २१ किमिको रहनेछ ।