दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले व्यास नगरपालिकाले आयोजना गरेको पाँचौ व्यास अल्ट्रा म्याराथनको शनिबार उद्घाटन गरेका छन् । व्यास नगरपालिका–५ मानुङकोटबाट सुरु हुने म्याराथनको मुख्यमन्त्री पोख्रेलले उद्घाटन गरेका हुन् ।
सो अवसरमा मुख्यमन्त्री पोख्रेलले खेलकुदको माध्मयबाट पर्यटनको प्रबद्र्धनका लागि थालिएको प्रयास सराहनीय रहेको बताए । गण्डकी प्रदेश पर्यटनमा धनी रहेको चर्चा गर्दै पर्यटनबाट प्रदेशलाई समृद्ध बनाउने सोच राखिएको उनले बताए ।
नगरपालिकाले म्याराथनलाई पर्यटन प्रबद्र्धनसँग जोड्न खोजेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । मगर र गुरुङ गाउँलाई खेलकुदबाट जोडेर प्रचारप्रसार गर्ने उद्देश्य राखिएको उनले बताए । “पर्यटकीय गाउँ मानुङ र सहिदहरुको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित म्याराथनले त्यस ठाउँको प्रबद्र्धन भएको विश्वास गरेका छौ,” न्यौपानेले भने ।
व्यास नगरपालिका–५ मानुङबाट सुरु भएको म्याराथन व्यास नगरपालिका–८ पुलिमराङ पुगेर टुङ्गिनेछ । म्याराथनमा एक विदेशीसहित एक सय ८६ धावकको सहभागिता रहेको नगरपालिकाका प्रवक्ता एवं खेलकुद विकास समितिका संयोजक मोहनकुमार श्रेष्ठले बताए ।
कोभिड–१९ को प्रभावका कारण माघ १६ गते हुँदै आएको म्याराथन आज गरिएको थियो । नगरपालिकाले शहीद दिवसको अवसरमा म्याराथन गर्दै आएको थियो ।
म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।