बसन्ती बास्ताेला युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बसन्ती बास्ताेला युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०७८, आईतवार

    दमौली । सञ्चारिका समूह नेपालकी केन्द्रीय सदस्य बसन्ती बास्तोला युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । युवा तथा खेलकुद मन्त्रालयले बास्तोलालाई युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेकाे हाे ।

    मन्त्रालयले पुस १४ गते प्रथम पटक प्रकाशित तथा म्याद थप समेत गरी माघ ११ गतेसम्म तोकिएको समयभित्र युवा पत्रकारिता पुरस्कारका लागि दर्ता हुन आव्हान गरेको थियो । दर्ता भएकामध्ये युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ अनुसार मूल्याङ्कन गरी बास्तोलालाई पुरस्कृत गरिएकाे मन्त्रालयले जनाएको छ । उनी यसअघि पनि विभिन्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेकी छन्।

    पुरस्कृत हुनेमा अन्य पत्रकारमा केशव भुल, पुर्ण बहादुर खड्का र सीताराम ओझा रहेका छन् । उनीहरु सबै जनालाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र मन्त्रालयका सचिव दामोदर रेग्मीले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै पुरस्कृत गरेका हुन् ।

    युवा पत्रकारिता पुरस्कारको राशी ५० हजार रूपैया रहेको छ । २०७५ सालदेखि युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष युवाको क्षेत्रमा कलम चलाउदैँ आएका चार–चार जनालाई पुरस्कृत गर्दै आएको छ ।

    यस्तै मन्त्रालयले १२ जना युवालाई राष्ट्रिय युवा प्रतिभाबाट सम्मान गरेको छ । जसमा विरेन्द्रनगर १२ सुर्खेतका हिमकुमारी उपाध्याय, बारपाक सुलिकोट ६ गोरखाका धिर्जबहादुर उपरकोटी, नरहरीनाथ एक कालिकाकोटका मंगल बहादुर विष्ट, भरतपुर १३ चितवनका सन्तोष वोटे, सुन्दरबहजार ६ लमजुङका कुसुम केसी रहेका छन् ।

    यस्तै बकैया ४ मकवानपुरका सुमित्रा घिमिरे, देवचुली १६ नवलपरासी बर्दघाट सुस्ता पूर्वका राजन गौतम, विरेन्द्रनगर १ सुर्खेतका राज कुमारी पौडेल, शिवपुरी ४ नुवाकोटका राजाराम गुरुङ, रत्ननगर १५ चितवनका अशोक शर्मा र मालारानी ८ अर्घाखाँचीका खिम प्रसाद पन्थी रहेका छन् ।

    संस्थातर्फ भने भानु १२ तनहुँको मिर्लुङ बहुउद्देशीय कृषि फर्म प्रालीे सम्मान प्राप्त गरेको छ । राष्ट्रिय युवा प्रतिभा सम्मानको राशी भने एक लाख रुपैयाँ रहेको छ । राष्ट्रिय युवा प्रतिभा सम्मान पनि युवा तथा खेलकुदमन्त्री गहतराज र मन्त्रालयका सचिव दामोदर रेग्मीले नै दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए ।