आगलागी पीडितलाई अमेरिकाबाट सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आगलागी पीडितलाई अमेरिकाबाट सहयोग

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०७८, सोमबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–४ मा गत फागुन २२ गते भएको आगलागीबाट पीडित भएकालाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । तेह्रथुम घर भई हाल अमेरिकामा रहेका हेम थापाले आगलागीबाट घर जलेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्य स्वरुप रु ५० हजार पठाएका हुन् ।

    भूपाल हार्डवेयरबाट सुरु भएको आगलागीका कारण हार्डवेयर आसपास रहेका घरहरुमा क्षति पुगेको थियो । घरमा क्षति पुगेका व्यक्तिहरुलाई केही सहयोग होस् भन्ने उद्देश्यले हेम एण्ड माया फाउण्डेशनमार्फत् उक्त सहयोग गरेको थापाले बताए । “आगलागीबाट पीडित भएकाहरुलाई सबैले सहयोग गर्नुपर्छ, मैले गरेको सहयोगले अरुलाई पनि उत्प्रेरणा मिल्ने विश्वास लिएको छु,” उनले भने ।

    आगलागीका समाचार विभिन्न माध्यमबाट थाहा पाएपछि थापाले सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए । थापाले नेपाली काङ्ग्रेस तनहुँका जिल्ला सचिव लक्ष्मीभक्त खनालमार्फत् उक्त सहयोग गरेका हुन् । खनालले व्यास नगरपालिका–४ का वडाध्यक्ष विश्वराज न्यौपानेलाई साेमबार उक्त रकम हस्तान्तरण गरेका छन् । सोक्रममा खनालले आगलागीका कारण घर जलेका व्यक्तिहरुलाई वडा कार्यालयले समन्वय गरेर रकम हस्तान्तरण गर्न आग्रह गरे ।

    वडाध्यक्ष न्यौपानेले हार्डवेयरले बीमा गरेपनि व्यक्तिगत घरको बीमा नभएकाले उनीहरुलाई थप क्षति भएको बताउँदै सहयोग रकमप्रति आभार व्यक्त गरे ।

    हेम थापा र उनकी श्रीमती माया थापाले आफ्नै कमाइबाट हेम एण्ड माया फाउण्डेशन संस्था सञ्चालन गरी हाल २१ जना असहाय विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउँदै आएका छन् । उक्त फाउण्डेशनमार्फत् देशका विभिन्न ठाउँमा असहाय, पीडितहरुलाई सहयोग गर्दै आएको बताइएको छ ।

    आगलागीबाट भूपाल हार्डवेयर, ज्योति सप्लायर्सका साथै क्या. बलराम राना, होमबहादुर गुरुङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया विक, दिपक श्रेष्ठको घरमा क्षति पुगेको छ ।