ऋषिङ गाउँपालिकाको प्रशासकीय भवन निर्माण, प्रधानमन्त्रीले उद्घाटन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङ गाउँपालिकाको प्रशासकीय भवन निर्माण, प्रधानमन्त्रीले उद्घाटन गर्ने

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०७८, शनिबार

    दमाैली । तनहुँको ऋषिङ गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । आफ्नै भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यबमोजिम निर्माण गरिएको गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको हो ।

    विसं २०७६ असोज १६ गतेदेखि भवन निर्माणको काम सुरु भएको थियो । भवनको नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले शिलान्यास गरेका थिए ।

    तत्कालिन गाउँ विकास समितिको पुरानो भवनबाट सेवा प्रवाह गर्दै आइरहेको गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएर आएपछि नयाँ भवन निर्माण थालेको थियो । साँघुरो भवनबाट सेवा प्रवाहमा असहज भएपछि नयाँ भवन निर्माण गरिएको गाउँपालिकाका प्रवक्ता विजयकुमार दरैले जानकारी दिए । “नयाँ भवन निर्माणभएपछि अब सहज रुपमा जनतालाई सेवा प्रवाह गर्न सजिलो हुनेछ,” उनले भने । रु तीन करोड ६१ लाखको लागतमा भवन निर्माण भएको हो ।

    नवनिर्मित प्रशासकीय भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् । आगामी चैत १० गते विशेष कार्यक्रमको आयोजना गरी भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    गाउँपालिकाले प्रधानमन्त्री देउवा सहभागी हुने कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउने गरी तयारी गरेको छ । कार्यक्रमका लागि विभिन्न समिति गठन गरिएको छ ।

    यातायात व्यवस्थापन समितिमा भोजराज रानाभाट, मञ्च व्यवस्थापन समितिमा भक्त बहादुर आले, कला सस्कृति व्यवस्थापनमा जङ्गवीर आले, खानेपानी खाजा खाना व्यवस्थापन समितिमा भरतकुमार श्रेष्ठ, जनप्रतिनिधि तथा आम नागरिक समन्वय समितिमा गिनुमाया थापा, प्रचारप्रसार व्यवस्थापन समितिमा विजय दरै, स्वयंसेवक व्यवस्थापन समितिमा दुर्गबहादुर राना, कर्मचारी परिचालन समितिमा टिकाबहादुर गोदार, महिला दिदीबहिनी परिचालन समितिमा सविना रानालाई जिम्मेवारी दिइएको छ ।

    त्यस्तै युवा परिचालन समितिमा खेम बहादुर राना, बाह्य सम्पर्क समन्वयमा श्रीबहादुर आले, भूपू सैनिक परिचालन समितिमा पदमबहादुर थापा, विद्युत व्यवस्थापन समितिमा विष्णुमाया थापा, शिक्षक स्वयंसेवक व्यवस्थापनमा सुवास रानाभाट, स्वास्थ्य सेवा व्यवस्थापन समितिमा लोकबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।

    गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले प्रधानमन्त्री सहभागी हुने कार्यक्रमलाई भव्य र सभ्य बनाउने गरी तयारी थालिएको जानकारी दिए ।