दमाैली । व्यास नगरपालिकाको आयोजनामा जारी मेयर उपमेयर कप फुटबल प्रतियोगिताको फाइनलमा सत्यवती माध्यमिक विद्यालय र निर्मल माध्यमिक विद्यालयले प्रतिस्पर्धा गर्ने भएका छन् ।
व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न भएको सेमिफाइनलबाट छात्रतर्फ सत्यवती र निर्मल माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल आइतबार बिहान हुने व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए।
वाराही आवासीय माध्यमिक विद्यालयलाई पराजित गर्दै निर्मल फाइनलमा प्रवेश गरेको हो । निर्मलले वाराहीलाई २–१ ले पराजित गरेको हो । दोस्रो सेमिफाइनल खेलमा सत्यवतीले बालमन्दिर माविलाई ४–१ ले पराजित गरेको हो ।
छात्रातर्फको फुटबल प्रतियोगितामा केशवटार माध्यमिक विद्यालय तृतीय भएको छ । केशवटार माविले वाराही आवासीय माविलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।
छात्रातर्फको फाइनल खेल पनि निर्मल मावि र सत्यवती माविबीच हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई रु ३० हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीय हुनेलाई रु १० हजार नगदका साथै ट्रफी प्रदान गरिनेछ ।