एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको एल क्लासिकोमा क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई सहजै पराजित गरेको छ । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा बार्सिलोनाले ४-० को फराकिलो जित दर्ता गरेको हो ।
बार्सिलोनाको जितमा पिएर एमेरिक औबामेयाङले २ गोल गर्दा रोनाल्ड अराउजो र फेरान टोरेसले १-१ गोल गरे । पहिलो हाफमा २-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा २ गोल थपेको थियो ।
खेलको सुरुवातमा दुवै टोलीले आक्रमणमा अवसर बुनेपनि बार्सिलोनाले अग्रता लिएपछि भने रियलले निकै फितलो प्रदर्शन गरेको थियो । रियलको फराकिलो हारमा पनि गोलरक्षक थिबाउट कोर्टुवाको व्यक्तिगत प्रदर्शन भने राम्रो रह्यो । उनले बार्सिलोनाको सुन्दर प्रहार विफल पारेका थिए ।
बार्सिलोनाले खेलको २९ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । ओस्मान डेम्बेलेको क्रसमा औबामेयाङले हेडरमार्फत गोल गर्दै क्याटलान टोलीलाई अघि बढाएका थिए ।
पहिलो गोलको ८ मिनेटपछि नै बार्सिलोनाले अग्रता दोब्बर पार्यो । डेम्बेलेको क्रसमा नै अराउजोले हेडरमार्फत गोल गर्दै २-० को अग्रता दिलाएका थिए । रियलले मुख्य फरवार्डबिना खेलेको खेलमा निकै संघर्ष गर्नुपरेको थियो ।