सचिन स्मृति दौडको उपाधि भारतीय सेनाका गुरुङलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सचिन स्मृति दौडको उपाधि भारतीय सेनाका गुरुङलाई

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०७८, शनिबार

    दमाैली । रोटर्याक्ट क्लव अफ दमौलीले शनिबारआयोजना गरेको १९ औं स्व. सचिन स्मृति दौड प्रतियोगिताको उपाधि भरत गुरुङले जितेका छन् । व्यास नगरपालिका–३ अनसनचौतारीदेखि व्यास नगरपालिका–१४ छाब्दीसम्मको ९ किलोमिटर दूरी ३० मिनेट दश सेकेण्डमा पार गर्दै गुरुङले उपाधि जितेका हुन् । भानु नगरपालिका–३ तुरतुरे निवासी उहाँ भारतीय सेनामा कार्यरत छन्।

    प्रतियोगितामा नवलपुर कावासोतीका रन्जित मगर द्वितीय भएका छन् । उनले उक्त दूरी ३१ मिनेटमा पार गरे। उनी पनि भारतीय सेनामा कार्यरत छन्। त्यस्तै प्रतियोगितामा व्यास नगरपालिका–६ का प्रमिश गुरुङ तृतीय भएका छन् । उनले उक्त दूरी ३१ मिनेट ५० सेकेण्डमा पार गरेकाे कार्यक्रम संयाेजक विशाल श्रेष्ठले जानकारी दिए ।

    महिलातर्फ बागलुङ निवासी नेपाली सेनामा कार्यरत दुर्गाकुमारी शर्मा प्रथम भइन् । उनले उक्त दूरी ४१ मिनेटमा पार गरिन् । बाल धावकतर्फ ११ वर्षीय किर्तिक घर्तीले ५७ मिनेटमा उक्त दूरी पार गरे ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १२ हजार १२, रु १० हजार १० र रु ८ हजार ८ प्रदान गरिएको क्लवका अध्यक्ष सुशान्त अधिकारीले जानकारी दिए। प्रतियोगितामा महिला र पुरुष गरी एक सय ४४ धावकको सहभागिता थियो ।

    प्रतियोगिताको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले दौड प्रतियोगिताले शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने बताए । क्लवले एक होनहार युवा गुमाएको स्मरण गर्दै न्यौपानेले सचिनको स्मृतिलाई चीरस्थायी बनाउन क्लवले आयोजना गर्ने कार्यक्रम प्रशंसनीय रहेको उनकाे भनाई थियो ।

    सन् २००३ देखि क्लवले हरेक वर्ष स्व. श्रेष्ठको सम्झनामा खुल्ला दौड प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । क्लवको कार्यक्रममा भारतको कलकत्ता जाने क्रममा वीरगञ्जमा बस दुर्घटनामा परी श्रेष्ठको निधन भएको थियो । क्लवले हरेक वर्ष सचिनको स्मृतिमा दौड र रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।