आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ को भवन निर्माण सुरु भएको छ । जनप्रतिनिधिको कार्यकाल सकिने अन्तिम चरणमा रहेका बेला बल्ल वडा कार्यालय भवन निर्माण सुरु भएको हो ।
उक्त भवनको साेमबार गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले शिलान्यास गरे । सो अवसरमा बोल्दै थापाले वडा कार्यालयको भवन नहुँदा सेवा प्रवाहमा असहजता भइरहेपनि भवन निर्माणपछि सहज हुने बताए । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र अन्य वडा कार्यालयको भवन निर्माण सम्पन्न गरिसकिएको उनले बताए ।
भ्याट बाहेक रु एक पाँच लाखको लागतमा वडा कार्यालय भवन निर्माण हुन लागेको हो । विसं २०७९ साल फागुनसम्म भवन निर्माण सम्पन्न गर्ने गरी भक्तपुरस्थित मायादेवी कन्स्ट्रक्सनले जिम्मा पाएको छ । दुई तल्लाको भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहज हुने वडाध्यक्ष कटकहादुर थापाले बताए ।
सामुदायिक भवनमा सञ्चालित वडा कार्यालय साँघुरो हुँदा सर्वसाधारणलाई सेवा दिन कठिन भइरहेको थियो । “एकैचोटि धेरै सेवाग्राही आउँदा बस्ने ठाउँ पनि हुँदैनथ्यो, सेवा प्रवाह दिन कठिन भइरहेको छ, नयाँ भवन बनेपछि सहज रुपमा सेवा दिन सक्छौ,” उनले भने ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत गाेपीकृष्ण अर्याल लगायतकाे उपस्थिति थियाे ।