


तनहुँ, २४ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ठूलोढुङ्गास्थित पृथ्वी राजमार्गमा बियर बोकेको मिनी ट्रक दुर्घटनामा परी बेपत्ता भएका चालक सम्पर्कमा आएका छन् । उनी सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति करिब ९ः३० बजे मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०४१७ नम्बरको बियर बोकेको मिनी ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको थियो ।
दुर्घटनापछि चालक फेला नपरेपछि प्रहरीले खोजी कार्य थालेको थियो । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमान्डमा खटिएको १३ जनाको प्रहरी टोलीले घटनास्थलमा खोजी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार दुर्घटनापछि बेपत्ता भएका चालक सम्पर्कमा आएका छन् र उनी सुरक्षित छन् ।