भिमाद । तनहुँको भीमाद नगरपालिका–३ स्थित बुडुवाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत पक्की पुल निर्माण सम्पन्न भएको हो । उक्त पुलको सोमबार गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले उद्धाटन गरे ।
विसं २०७७ पुस १३ गतेदेखि पुल निर्माणको काम सुरु भएको थियो । पुल निर्माणका लागि विसं २०७७ साउन २८ गते गणेश कुण्ड निर्माण सेवा नुवाकोटसँग सम्झौता भएको थियो । रु दुई करोड पाँच लाख ५७ हजार १४४ को लागतमा पुल निर्माणको काम सकिएको भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले जानकारी दिए । १९.८ मिटर लामो पुलको चौडाइ छ मिटर रहेको छ ।
उक्त ठाउँमा पुल नहुँदा वर्षायाममा सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो । पुल निर्माणपछि यस भेगका बासिन्दालाई वारपारमा सहयोग भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष पदम ठकुरीले बताए ।
वर्षाका बेला यो खेला निकै ठूलो हुन्छ । खोला तर्न हालिएका फड्के पनि बगाउँदा स्थानीयवासी मर्कामा पर्दै आएका थिए । विद्यालय जाने विद्यार्थी, घाँस दाउरा र मेलामात गर्ने स्थानीयवासीलाई खोला तर्न समस्या हुँदै आएको थियो । वर्षौँदेखि मोटरेबल पुल बनाउन आवाज उठाउँदै आएका यहाँ स्थानीयवासीको माग गण्डकी प्रदेश सरकारले सम्बोधन गरिदिएको छ ।