दमाैली । जबरजस्ती करणीको अभियोगमा जिल्ला कारागार तनहुँको थुनामा रहेका कलाकार पल शाहलाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दर्ता गरिएको छ । शाहका तर्फबाट तनहुँका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले मङ्गलबार उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दर्ता गरेका हुन् ।
जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको चैत १० गतेको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेश चित्तबुझ्दो नभएकाले शाहका तर्फबाट पुनरावेदन निवेदन दर्ता गरिएको हो ।
शाहलाई धरौटीमा रिहा गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाउन माग गर्दै पुनरावेदन निवेदन दर्ता गरिएका कानून व्यवसायी अधिवक्ता भानुभक्त सुवेदीले बताए । “पल शाहका विरुद्ध जिल्ला अदालतबाट गरिएको आदेश चित्त नबुझेकाले पुनरावेदन गरेका हौ, तारेखमा रिहा गरेर मुद्दा लड्न पाउनुपर्ने माग सहित निवेदन दर्ता भएको छ,” सुवेदीले खबरपुञ्जसँग भने ।
पीडितकै कुरा बाझिएको, उमेर ढाँटिएको र घरबेटी र उनीसँगै सुतेका व्यक्तिको बयानले पनि बलात्कार नभएको पुष्टि गर्ने निवेदनमा जिकिर गरिएको छ । जाहेरी ढिलो पर्नु, घटना भएको भनिएको लामो समयसम्म पनि उनीहरु सँगै काम गर्नु, घुमफिर गर्नु लगायत विषयले बलात्कार नभएको पुष्टि गर्ने पुनरावेदन निवेदनमा दाबी गरिएको छ ।
निवेदन दर्ता भएपछि भोलि उच्च अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश दिनेछ । आदेशबमोजिम जिल्ला अदालतले कैफियत प्रतिवेदन पोखरा पठाउनेछ । कैफियत प्रतिवेदन पुगेपछि हरेक बिहीबार निवेदन उपर सुनुवाई हुने व्यवस्था रहेको छ ।