दमौली । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि तनहुँका दुई विद्यालय छनौट भएका छन् । शिक्षा मन्त्रालयले यो कार्यक्रमका लागि तनहुँका दुई विद्यालय छनौट गरेको हो ।
भानु नगरपालिकास्थित त्रिभुवन मावि र शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमुनिदेव मावि छनौट भएका छन् । त्रिभुवनमा बाली पशु विज्ञान र पञ्चमुनीमा कृषि पशुपालन कार्यक्रम सञ्चालन हुनेछ ।
छनोट भएका विद्यालयलाई सरकारले अनुदान दिनेछ । सोही अनुदान रकमका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै अभियानमा सामेल गराइनेछ ।
शिक्षा मन्त्रालयले देशभरका स्थानीय तहमार्फत सामुदायिक विद्यालयसँग प्रस्ताव मागेकोमा यही चैत ८ को निर्देशक समितिको बैठकले ती विद्यालय छनोट गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सुरेशकुमार जोशीले जानकारी दिए ।