पोखरा । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ। नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मङ्गलबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले सार्वजनिक विदाको निर्णय गरेको प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले जानकारी दिए।
तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा जन्मिएका आचार्यको सम्मानमा भानु नगरपालिकाले पनि दुई वर्षदेखि सार्वजनिक विदा दिँदै आएको थियो ।
विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो ।
नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त बाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए। भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए ।