मलेसियामा रोजगारीका लागि दमौलीमा अन्तरवार्ता सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मलेसियामा रोजगारीका लागि दमौलीमा अन्तरवार्ता सञ्चालन

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०७८, बिहीबार

    दमाैली । मलेसियामा रोजगारीका लागि तनहुँको दमौलीमा अन्तरवार्ता सुरु भएको छ । फ्रि भिसा फ्रि टिकट अन्तर्गत मलेसियामा रोजगारीका लागि बिहीबारदेखि दमौलीमा अन्तरवार्ता सुरु भएको हो ।

    स्यारिकात सिन क्वाङ प्लाष्टिक इन्डष्ट्रिज एसडिएन बिउचडी (एसकेपी) मलेसियामा रोजगारीका लागि सुरु अन्तरवार्ता चारदिनसम्म सञ्चालन हुनेछ ।

    नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृती दिन पुनः सुरु गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गत महिना निर्णय गरेका थिए । मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार मन्त्री श्रेष्ठले उक्त निर्णय गराएका थिए ।

    मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको थियो ।

    सोही बमोजिम मलेसियाका लागि कामदार लैजाने तयारी थालिएको छ । श्रममन्त्री श्रेष्ठकै पहलमा दमौलीबाट अन्तरवार्ता सञ्चालन गरी पाँच सय कामदार मलेसिया लैजाने तयारी गरिएको छ । इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्टले निःशुल्क स्वास्थ्य जाँच, निःशुल्क भिषा, निःशुल्क टिकटमा कामदार मलेसिया लैजान लागेको हो ।