दुलेगाैडा । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्माले दुर्घटना न्यूनीकरणका लागि सबैको प्रयास आवश्यक रहेको बताएका छन्। गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले आज तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ठूलोढुङ्गामा आयोजना गरेको सवारी दुर्घटना उद्धारको नमूना अभ्यास कार्यक्रममा मन्त्री विश्वकर्माले सवारी दुर्घटना बढ्दो अवस्थामा रहेकाले यसलाई न्यूनीकरणका लागि सबैको हातेमालो आवश्यक रहेको बताए ।
ट्राफिक नियमको पालना गरी चालकहरुले सवारी चलाउनुपर्ने र पैदलयात्रीहरुले पनि चनाखो भएर सडकमा हिँडडुल गर्नुपर्ने बताउँदै मन्त्री विश्वकर्माले भने, “सवारी दुर्घटना न्यूनीकरणका लागि चालक, पैदलयात्रीको पनि महत्वपूर्ण भूमिका हुन्छ ।” मन्त्री विश्वकर्माले दुर्घटनामा परेका घाइते तथा मृतक परिवारलाई नियमानुसार क्षतिपूर्तिको व्यवस्था गरिने बताउनुभयो । प्रहरीले सवारी चालकलाई मित्रवत व्यवहार गर्नुपर्ने उनकाे भनाई थियो ।
ट्राफिक सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकार गम्भीर रहेको उनले बताए । प्रदेश सरकार प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउन प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनी, गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द अधिकारी, दङ्गा नियन्त्रण प्रहरी गणका प्रमुख गोपालचन्द्र भट्टराई लगायत सहभागी थिए ।
सोक्रममा सवारी दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारको नमूना अभ्यास गरिएको थियो ।