दमाैली । तनहुँमा बिहीबारदेखि २७ औं वन्यजन्तु सप्ताह सुरु भएको छ । मानव–वन्यजन्तु सहअस्तित्व : हाम्रो साझा दायित्व भन्ने मूल नाराका साथ भानुभक्त प्राणी उद्यानको आयोजनामा वन्यजन्तु सप्ताह सुरु भएको हो ।
सप्ताहको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मानिसले वन्यजन्तुको सहअस्तित्व स्वीकार गर्नुपर्नेमा जोड दिए । मानव र वन्यजन्तुको अहअस्तित्व स्वीकार नहुँदा विभिन्न घटना घट्ने गरेकाले दुवैको अस्तित्व बराबर रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । मानव र वन्यजन्तुको सहअस्तित्वका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
प्राणी उद्यानका संरक्षण अधिकृत भोजराज पन्थले वन्यजन्तुको संरक्षण गर्नुपर्ने बताउँदै मानव र वन्यजन्तुको सहअस्तित्वबारे सचेतना जगाउने उद्देश्यले सप्ताहको अवसरमा विविध कार्यक्रम गरिने पन्थले जानकारी दिए ।
नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्ज्वल पौडेलले तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व समस्याका रुपमा रहेकाले यसलाई न्यूनीकरणका लागि सञ्चारमाध्यमको तर्फबाट सचेतना जगाउन सहयोग गर्ने बताए ।
भानुभक्त प्राणी उद्यानले वन्यजन्तु सप्ताहको अवसरमा सातदिनसम्म विविध कार्यक्रमको आयोजना गरेको छ । सप्ताहको अवसरमा चरा अवलोकन साथै उद्यान सीमाना निरीक्षण तथा अनुगमन, सरसफाई, विद्यालय शिक्षा कार्यक्रम, वन डढेलो सम्बन्धी सचेतना कार्यक्रम, स्थानीय सरोकारवालासँग छलफल कार्यक्रम सञ्चालन हुने उद्यानका रेञ्जर दिपेश मिजारले जानकारी दिए ।