मियाँ गाउँ : धरापमा छन् घर, सरकारको लाग्दैन भर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मियाँ गाउँ : धरापमा छन् घर, सरकारको लाग्दैन भर

    विनाेद ढु‌ङ्गाना

    ३० चैत्र २०७८, बिहीबार

    दुलेगाैडा । भिमाद नगरपालिका–१ हुक्कास्थित मियाँ गाउँका मोहमद अलीको घर २०७२ सालमा आएको विनाशकारी भुकम्पले चर्कायो । भुकम्पले चर्काएको घर निजी आवास पुननिर्माणका लागि सरकारले अनुदान दिने लाभग्राहीको सुचीमा परेन । भुकम्पले चर्काएको घर अहिले पनि धरापमै छ ।

    भुकम्प पीडितको लाभग्राही सुचीमा पर्नलाई मोहमदले पुनरावेदनका लागि आठ हजार रुपैयाँ खर्चिए पनि उनी लाभग्राहीको सुचीमै परेनन् । बर्खामा आकाश गर्जिन थालेपछि त्रासैत्रासमा बित्यो अली परिवारको ६ बर्ष । हावाहुरी र पानी पर्दा चर्किएको घरमा बस्नलाई जोखिम भएपछि उनले नयाँ एक कोठे घर बनाउँदैछन् । ‘दिन राम्रै हुदाँ त यहीँ घरमा बस्छौँ । हावा हुरी र पानी पर्न थालेपछि बन्दै गरेको घरमा जान्छौँ‘, उनले सुनाए । अझैपनि सरकारले घर बनाउनलाई सहयोग गर्छ कि भन्ने झिनो आश रहेको उनी बताउँछन् ।

    मोहमदको घरसँगै जोडिएको छ महम्बद हक्कि बुल्लाको घर । ११ जना बस्ने एक कोठे घर पनि धराप देखिन्छ । ठाउँ ठाउँमा चर्किएको छ । गत १५ माघमा खरले छाएको घरको छानो खसेर बुल्लाकी श्रीमति नाजिया निशा घाईते भईन् । निशाको गाउँलेले चन्दा संकलन गरेर उपचार गरियो । त्यसपछि ऋण खोजेर छानोमा जस्ता हालेको उनले बताए । जस्ताले छाएपनि बर्खा लाग्न थालेपछि घरको भर लागेको छैन् उनलाई । ‘बर्खा लागेपछि त्रासै त्रास हुन्छ । अन्त जानलाई पनि ठाउँ छैन् । नयाँ घर बनाउनलाई उपाय छैन्’, उनले भने । ठुलो पानी पर्दा त घरै भत्कने डरले सताउँने गरेको उनी बताउँछन् । ‘सानसाना बालबच्चा छन् । अचानक भत्कियो भने त समस्या हुन्छ । रातमा केही घटना घटेर आपत पर्ने हो कि’, उनको चिन्ता छ ।

    नयाँ घर बनाउनलाई सरकारसँग हारगुहार माग्न सकेका छैनन् । सरकारको पनि भर नलाग्ने उनले बताए । सरकारले दिने अनुदान लिनलाई पहुँचवाला नै हुनुपर्ने ठम्याइ छ उनको । गाउँमा भुकम्पले भत्किएका घर, जनता आवसमा परेका घरले अनुदानको रकम नपाएकाले सरकारसँग आशा नभएको बताए । ‘सरकारले घर बनाउन अनुदान दिन्छ जस्तो लाग्दैन् । त्यसैले मागेको पनि छैन्’, बुल्लाले भने ।

    अनुदानको आश्वासन पाएर घर बनाएका महिदिन मियाँ पनि ऋणमा डुबेका छन् । ओत लाग्ने घर त बनेको छ तर ऋण कसरी तिर्ने उनलाई चिन्ता थपिएको छ । जनता आवास कार्यक्रम मार्फत नयाँ घर बनाउन अनुदान पाउने सुचीमा नाम परेको जनप्रतिनिधीले सुनाएका थिए । अनुदान कुर्दाकुर्दै आएन् । आश पनि मरेको छैन् । खरले छाएको घर जिर्ण भएर बर्खामा गल्र्यामगुर्लुम ढल्ने धरापको स्थिती भएपछि महिदिनले नयाँ घर बनाएको झन्डै आधा बर्ष बितेको छ । अनुदान कहिले आउँछ उनलाई पत्तो छैन् । ‘बस्ने बास भएन भनेर घर बनाईयो । साढे तीन लाख रुपैयाँ दिन्छ भनेका थिए । आउला नि भनेर बनाए । घर बनाएको ऋण तिर्नै बाँकी छ । कामदारलाइ पनि दिन बाँकी छ’, अगाडी थप्दै भन्छन्, ‘वडाध्यक्षसँग कहिले पैसा आउँछ भनेर सोध्छु आउँछ आउँछ भन्छन् क्यारे !’

    मियाँ गाउँमा ७३ घर छन् । ति मध्ये दर्जन बढी घर धराप बन्दैछन् । केही चर्किएका छन् केही पुरानो भएर जिर्ण देखिन्छन् । छानोमा जस्ता हालेपनि पक्की घर नभएकाले चैत वैशाखको हावाले उडाइदिने पिरलोमा छन् धेरै जसो ।

    भुकम्पको लाभग्राहीको सुचीमा परेकाले पनि अनुदानले मात्रै नपुग्ने भएपछि घर बनाउन थालेर बिचमै छाडेका छन् । संघीय सरकारसँग स्थानीय सरकारले सहकार्य गरेर खरको छानामुक्त बनाउने अभियान देशभरै चलेपनि मियाँ गाउँको केही घरमा खरकै छानो छ । छानोमा नयाँ जस्ता फेर्ने धोको छ तर तीनै तहको नजर पुगेको छैन् मियाँ गाउँमा ।