दमौली । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अधुरा रहेका योजना पूरा गर्न पुन: मेयर बन्ने इच्छा व्यक्त गरेका छन्। आइतबार पत्रकार सम्मेलनको आयोजना गरी न्यौपानेले अधुरा रहेका योजना पूरा गर्न, आफ्नो अनुभव र क्षमताको प्रयोग गर्न पुन: मेयरको इच्छा व्यक्त गरेका हुन्।
पॉच वर्षको अवधिमा नगरवासीको शिर निहुर्याउने कुनै काम नगरेको भन्दै उनले भने, ‘हाम्रो कामको मूल्यांकन र समिक्षा गर्ने दायित्व नगरवासी, राजनीतिक दल, नेपाली कांग्रेसका नेतृत्व गणमा छ ।’
‘नयॉ आउने मान्छेलाई बुझ्नै समय लाग्छ, हामीले धेरै अनुभव प्राप्त गरिसकेका छौ, त्यही अनुभवलाई फेरि प्रयोग गर्ने चाहना हो,’ उनले भने। न्यौपानेले पार्टीले टिकट नदिएको खण्डमा पनि पार्टीलाई विजयी गराउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
क्षेत्रीय सभापति श्याम माैराती र व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेलाई आडैमा राखेर आयाेजित पत्रकार सम्मेलनमा उनले कांग्रेस पार्टीमा पराजित भएपनि जनताको बीचमा जानु फरक कुरा भएको भन्दै भने, ‘निष्ठापूर्वक काम गरेको छु, १८ घण्टा खटेको छु । जनताले मेरो कामको मूल्यांकन गर्नेमा विश्वस्त छु ।’
न्यौपानेले नगरपालिकाले निर्दिष्ट गरेका योजना धैरे सम्पन्न भएको र केही अधुरा रहेका परिप्रेक्ष्यमा व्यासलाई उपमहानगरपालिकाको पूर्वाधार निर्माण गर्न बॉकी रहेको महशुस गरेको बताए ।
‘संविधानको निर्माणपछि राज्य पुनसंरचना भई नगरपालिकाको भूगोल बढ्न गाउँ र शहरको विविधताबीच नगरपालिकाको विकास प्रकृया अघि बढाउन चुनौतिपूर्ण थियो,’ उनले भने, ‘सबैको सहयोगमा विभिन्न महत्वपूर्ण काम भएका छन् ।’