भानुको नगरप्रमुखमा मेरो उम्मेदवारी किन ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुको नगरप्रमुखमा मेरो उम्मेदवारी किन ?

    सीताराम बजगाइँ

    ४ बैशाख २०७९, सोमबार

    आदरणीय भानु नगरवासी दाजुभाई, दिदिबहिनी तथा आमाबुवाहरु! नमस्कार । म सीताराम बजगाइ !

    देश र समाजको सकारात्मक परिवर्तनको लागि आफू सक्रिय हुनु पर्ने महशुस भएको हुँदा मैले भानु नगरपालीकाको नगर प्रमुख (मेयर) को लागि यहि वैशाख ३० गते हुने स्थानीय चुनावमा नेकपा एमालेको तर्फबाट उम्मेद्वारको रुपमा आफुलाई तपाईहरु समक्ष प्रस्तुत गर्न चाहन्छु । विगतमा सम्पन्न स्थानीय निर्वाचनमा पनि विभिन्न राजनैतिक दल र स्वतन्त्र उम्मेदवारीको हैसियतले भानु न.पा. को मेयर लगायत उपमेयर, वडा अध्यक्ष र सदस्यहरूमा उम्मेदवारी दिएकोमा मेयर पदमा नेपाली कांग्रेसका उदयराज गौलीले विजय हासिल गरेका थिए भने अन्य पदहरू नेपाली कांग्रेस लगायत ने.क.पा. एमालेका उम्मेदवारीहरूले विजय हासिल गरेका थिए ।

    स्थानीय निकायमा निर्वाचन हुनु, बढी मत प्राप्त गर्ने उम्मेदवारले बिजय हासिल गर्नु र कम मत प्राप्त गर्नेले पराजित हुनु स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम स्वभाविक प्रकृया हो । हामी विगतमा केही टेक्निकल कुराहरुमा चुक्न पुग्दा पराजय व्यहोर्न परेको विषय यथार्थ हो । हामी हिजो पनि मैदानमा कमजोर थिएनौँ । आज पनि हामी मैदानमा शक्तिशाली छौँ । हिजो कार्यकर्ताको बीचमा जान सकेका थिएनौँ । आज जुन टोलमा जानुस् नेकपा (एमाले) ले जित्छ भन्ने सन्देश दिन्छ । राम्रो पक्ष के छ भने जहाँ हामी कमजोर थियौँ, त्यहाँ शशक्त छौँ ।

    विगतमा पराजय भोगेका वडाहरुमा पनि अहिले हामी जित्ने तयारीमा छौँ । हाम्रो उर्जा नतिजा नआउन्जेलसम्म कायम राख्छौँ र परिणाम आएपछि त्यो परिणामलाई सदुयोग गरेर यहाँका अधुरा सपनाहरुलाई साकार पार्ने, नेतृत्व गर्ने पात्रको रुपमा हाम्रा जनप्रतिनिधिहरु पठाउछौँ । हामी भत्ता खानका निमित्त होइन, हाम्रा मेयर, उपमेयर वडाध्यक्षहरु समग्र नगरलाई मुलुकमा चिनाउनेगरीको प्लानिङसहित अगाडी बढ्छौँ ।आगामी वैशाख ३० गते सम्पन्न हुने उक्त स्थानीय निकाय निर्वाचनमा भानु न.पा. को मेयर पदमा उम्मेदवारी दिने घोषणा गरी सकेको कुरा अधिकांश भानु न.पा. का मतदाताहरूलाई जानकारी छ ।

    मैले आफ्नो उम्मेदवारी घोषणा गरिरहँदा कुनै व्यक्ति विशेष वा राजनीतिक दलहरूप्रति आग्रह पूर्वाग्रह वा कुनै आक्षेप लगाई मतदाताहरूसंग मत माग्ने पक्षमा छैन । यस अघि निर्वाचित जनप्रतिनिधिहरूले मतदाताहरूको अपेक्षा अनुरूप आफ्नो पदमा रही के कति योगदान गर्न सके वा सकेनन् । स्वयम मतदाताहरूले नै मूल्याङ्कन गर्ने विषय हो । जहाँसम्म भानु नगरपालिकामा विगतमा भएको निर्वाचनमा म पनि एक मतदाताको हैसियतले जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन गर्दा जनतावाट निर्वाचित राजनीतिक दलका प्रतिनिधिहरूले भानु न.पा. का मतदाताहरूको अपेक्षा अनुरूप कुनैपनि कार्य गर्न नसकेको कुरा मतदाता सामु छर्लङ छ ।

    उनीहरूले केवल आफ्नो दलिय स्वार्थ, नाता गोता, कार्यकर्ता, आसेपासेहरूका निमित्त मात्र स्वार्थसिद्धीमा लिप्त भएको कुरा मैले यस लेख मार्फत जानकारी गराई राख्नु पर्ने आवश्यक ठान्दीन किनकी सचेत मतदाताहरू आफै विज्ञ हुनुहुन्छ । निर्वाचन अघि मतदाताहरू सामु गरिएका प्रतिवद्धता र निर्वाचन पछि जनप्रतिनिधिहरूले जनताप्रति देखाएको रूस्ट व्यवहार आफैमा प्रष्ट छ । यो सवै प्रणालीको दोष होईन । हो भने केवल व्यक्तिगत क्षमता, कार्यकुशलताको अभाव र निजहरूले जनताको सेवा भन्दा आफ्नो पदलाई व्यवसायिक पदको रूपमा रूपान्तर गर्नु नै प्रमुख कारक हो भन्ने कुरा छर्लङ छ ।

    तर २०७९ साल वैशाख ३० गतेको निर्वाचन पछि यस नगरपालिका क्षेत्र भित्रका जनताले अभाव, असुविधा लगायत नगरपालिकाको विकासमा अवरोध आएको महशुस गर्नु पर्ने छैन । किनकी उक्त निर्वाचनमा मैले मेयर पदमा उम्मेदवारी दिने घोषणा गरिसकेको र भानु नगरपालिकाको आम मतदाताले सुर्य चिन्हमा मतदान गरी मेयर पदमा अत्यधिक बहुमतले बिजय वनाउनु हुने नै छ भन्ने अपेक्षा लिएको छु । तत्पश्चात भानु नगरपालिकाका बासिन्दाहरूले उल्लेखित समस्याहरू भोग्नु पर्ने छैन भन्ने प्रतिवद्धता जाहेर गर्न चाहन्छु ।

    म भानु नगरपालिका भित्र रहेका प्रत्येक वडाको समस्यासंग परिचित छु । सवै वडाका समस्याहरूलाई सरल तरिकावाट समाधान गर्ने इच्छा मात्र होईन, विज्ञ तथा प्राविधिक समुहहरूको सल्लाह सुझाव लिई प्रविधियुक्त नमुना नगरपालिकाको रूपमा विकास गर्ने क्षमता समेत राख्दछु ।

    लेखक भानु नगरपालिकाका मेयरका आकांक्षी हुन्