दमाैली । नायब पल शाह प्रकरणमा पीडितका बाबुले बयान फेरेका छन् । तनहुँ जिल्ला अदालतमा मङ्गलबार भएको बकपत्रमा पीडितका बाबुले बयान फेरेका हुन् । उनले यसअघि सरकारी वकिलसमक्ष दिएको बयानभन्दा अदालतमा फरक बयान दिएका छन् ।
पीडितका बाबुले बकपत्रका क्रममा जबरजस्ती करणी नभएको भनेर बयान दिएको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्माले बताए । “जबरजस्ती करणी भएको रहेनछ, मैले बल्ल थाहा पाएँ भनेर बयान दिनुभयो,” पीडितका बाबुको भनाई उद्धृत गर्दै शर्माले खबरपुञ्जसँग भने ।
पीडित भनिएकी नाबालिगले पनि आइतबार बयान फेरेकी थिइन् । पीडितले आफूले दबाबमा आएर त्यस्तो आरोप लगाएको बताएकी थिइन् ।
नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ अदालतको आदेश बमोजिम शाह गत चैत १० गते शाह पुर्पक्षका लागि थुनामा गएका छन् । अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भइसकेको छ । शाहविरुद्ध नवलपुर अदालतले पनि थुनामा राख्ने आदेश दिएको थियो ।