तनहुँका दशवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका दशवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०७९, बिहीबार

    दमाैली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समिति तनहुँको कार्यालयमा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । साथै जिल्लाका अन्य नौ स्थानीय तहमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

    व्यास नगरपालिका समेत हेर्ने गरी स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले उद्घाटन गरे।

    सो अवसरमा मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले निष्पक्ष, स्वतन्त्र र भयरहित तरिकाले निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको बताउँदै निर्वाचन सम्पन्न गराउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

    तनहुँका दशवटै पालिकामा बिहीबार एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।

    व्यास नगरपालिकाको निर्वाचन अधिकृत सहित मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गाना, आँबुखैरेनी गाउँपालिकामा प्रमुख मालपोत अधिकृत चिरञ्जीवि पौडेल, ऋषिङ गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव राजेन्द्र न्यौपाने, घिरिङ गाउँपालिकामा हुलाक निर्देशनालय पोखराका प्रमुख किर्तनराज पौडेल, देवघाट गाउँपालिकामा जिल्ला समन्वय अधिकारी थमनसिं थापा, बन्दीपुर गाउँपालिकामा राष्ट्रिय सूचना आयोगका उपसचिव विश्वबन्धु पौडेल निर्वाचन अधिकृत ताेकिएका छन् ।

    भिमाद नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका न्यायधीवक्ता रामचन्द्र शर्मा, म्याग्दे गाउँपालिकामा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका उपसचिव नवराज आचार्य, शुक्लागण्डकी नगरपालिकामा सत्य निरुपण तथा मेलमिलाप आयोगका उपसचिव सरिता रायमाझी र भानु नगरपालिकामा तनहुँ अदालतका श्रेस्तेदार मिनबहादुर कुंवर निर्वाचन अधिकृत ताेकिएका छन् ।