दमाैली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा दुई हजार तीन सय ७६ जनशक्ति परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयले दशवटै स्थानीय तहको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी दुई हजार तीन सय ७६ जनशक्ति परिचालन गर्न लागेको हो ।
मतदान केन्द्रमा जनशक्ति परिचालनका लागि कर्मचारीको विवरण सङ्कलनको काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । जिल्लामा वैशाख २७ गतेभित्र मतदान अधिकृत, सहायक मतदान अधिकृत नियुक्त गरेर मतदानस्थलमा खटाइसक्ने तयारी गरेको छ ।
निर्वाचनका लागि तनहुँमा एक सय ३६ मतदानस्थल र दुई सय ९७ मतदान केन्द्र निर्धारण भएको छ । निर्वाचनका लागि दुई सय ९७ मतदान अधिकृत, दुई सय ९७ सहायक मतदान अधिकृत, पाँच सय ९४ सहायक, दुई सय ९७ सहयोगी परिचालन हुनेछन् । त्यसका साथै मतदान केन्द्रमा आठ सय ९१ कर्मचारी नियुक्त गरिनेछन् ।
आँबुखैरेनी गाउँपालिकामा कूल एक सय ३६, ऋषिङ गाउँपालिकामा दुई सय, घिरिङ गाउँपालिकामा एक सय ३६, देवघाट गाउँपालिकामा एक सय १९, बन्दीपुर गाउँपालिकामा एक सय ६८, भानु नगरपालिकामा तीन सय ९२, भिमाद नगरपालिकामा दुई सय ४८, म्याग्दे गाउँपालिकामा एक सय ६०, व्यास नगरपालिकामा चार सय ४७ र शुक्लागण्डकी नगरपालिकामा एक सय ८९ जनशक्ति परिचालन गरिनेछ ।
तनहुँका दुई लाख ४४ हजार तीन सय ४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार आठ सय ६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार चार सय ७१ मतदाता रहेका थिए ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आँबुखैरेनीमा छ हजार छ सय ४२ पुरुष र ६ हजार ९ सय ८९ गरी १३ हजार छ सय ३१, ऋषिङ गाउँपालिकामा आठ हजार ९ सय ५१ पुरुष र नौ हजार दुई सय ८७ महिला गरी १८ हजार दुई सय ३८, घिरिङ गाउँपालिकामा सात हजार एक सय १७ पुरुष र सात हजार पाँच सय ५९ महिला गरी १४ हजार छ सय ७६, देवघाट गाउँपालिकामा छ हजार तीन सय ७५ पुरुष र छ हजार चार सय ४० महिला गरी १२ हजार आठ सय १५ मतदाता कायम भएका छन् ।
बन्दीपुर गाउँपालिकामा सात हजार पाँच सय ६४ पुरुष र आठ हजार ७४ महिला गरी १५ हजार छ सय ३८, भानु नगरपालिकामा १९ हजार पाँच सय ४४ पुरुष र २० हजार नौ सय ५२ महिला गरी ४० हजार चार सय ९६, भिमाद नगरपालिकामा ११ हजार आठ सय ९९ पुरुष र १२ हजार नौ सय ८५ महिला गरी २४ हजार आठ सय ८४, म्याग्दे गाउँपालिकामा आठ हजार पाँच सय ७९ पुरुष र नौ हजार पाँच सय २६ महिला गरी १८ हजार एक सय पाँच, व्यास नगरपािलकामा २२ हजार चार सय १३ पुरुष र २५ हजार एक सय २९ महिला गरी ४७ हजार पाँच सय ४२, शुक्लागण्डकी नगरपालिकामा १८ हजार ५० पुष र २० हजार दुई सय ६५ महिला गरी ३८ हजार तीन सय १५ मतदाता कायम भएका छन् ।
निर्वाचन कार्यालय तनहुँका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा दुई सय ९७ मतदान केन्द्र कायम गरिएको छ । करिब एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र कायम भएको ढकालले जानकारी दिए। सबैभन्दा बढी व्यास नगरपालिकामा ५६ र सबैभन्दा कम देवघाट गाउँपालिकामा १५ मतदान केन्द्र कायम भएको छ ।
यसैगरी आँबुखैरेनी गाउँपालिकामा १७, ऋषिङ गाउँपालिकामा २५, घिरिङ गाउँपलिकामा १७, बन्दीपुर गाउँपालिकामा २१, भानु नगरपालिकामा ४९, भिमाद नगरपालिकामा ३१, म्याग्दे गाउँपालिकामा २०, शुक्लागण्डकी नगरपालिकामा ४६ मतदान केन्द्र कायम भएको छ ।