दुलेगाैडा । शुक्लागण्डकी नगरपालिकाका १९ जना जनप्रतिनिधिले राजीनामा दिएको छन् । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा फेरी दोहोरिन चाहाने जनप्रतिनिधिले राजिनामा दिन थालेका छन् ।
शुक्रबारसम्ममा राजिनामा दिनेमा पाँच जना वडाध्यक्ष पनि छन् । शुक्लागण्डकी–४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ, शुक्लागण्डकी–५ का दिर्घबहादुर थापा, ८ का कृष्णप्रसाद रेग्मी, १० का रामचन्द्र भण्डारी र १२ का वडाध्यक्ष मनराज गुरुङले राजिनामा दिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले जानकारी दिए । वडाध्यक्ष श्रेष्ठ, थापा, रेग्मी, भण्डारी र गुरुङ फेरी वडाध्यक्षमै दोहोरिन चाहान्छन् । रेग्मी र भण्डारीले उपमेयरमा पनि आकांक्षा देखाएका छन् ।
वडाध्यक्षबाट राजिनामा दिदै शुक्लागण्डकी–१२ का वडाध्यक्ष मनराज गुरुङ लेख्छन्
आदरणीय फिरफिरेवासी बुवा आमा दिदी बहिनी दाजुभाइहरु !शुक्लागण्डकी नगरपालिका वडा न.१२ को वडा अध्यक्ष पदबाट राजिनामा दिएको छु । २०७४ को निर्वाचनमा यहाँहरुले दिनु भएको ऐतिहासिक जिम्मेवारी कुशलताका साथ पूरा गरेको छु । वडामा पार्टीको तर्फबाट एक्लो प्रतिनिधि, फरक पार्टीको प्रमुख उपप्रमुख हुँदाको अप्ठ्यारो परिस्थितिमा सबैलाई समन्वय गर्दै समग्र फिरफिरेको बिकासको मुल प्रवाहमा लैजानु कम चुनौतीपूर्ण थिएन । मेरो पाँच बर्से कार्यकाल जिवनकै महत्त्वपूर्ण सिकाइ भएको छ । थुप्रै कमिकमजोरी भए होलान तर फिरफिरेवासीको शिर झुकाउने कार्य गरेको छैन बरु फिरफिरेको नयाँ पहिचान दिने प्रयत्न गरे । यस बिचमा केही दीर्घकालीन महत्वोपुर्ण कार्यहरुको सुरुवात गरिएको छ । उद्दमी युवा समृद्ध फिरफिरे कार्यक्रम मार्फत कृषि उत्पादन, पर्यावरण मैत्री फिरफिरे, तमु हिल पार्क, मोटरबाटोहरुको स्तर उन्नति, खानेपानि, बहुउद्देश्यीय सामुदायिक भवन, ग्रामीण पर्यटन लगायत दलित,महिला,युवाहरुको मानवीय बिकासमा गरिएको फरक प्रयास सफल हुनका साथै अर्थपूर्ण रहेको ठम्याइ गरेकोछु । उमेर अवस्थामै बिश्वास गरि यो ऐतिहासिक जिम्मेवारी प्रदान गर्ने महान तथा गौरवशाली पार्टी नेकपा ( माओवादी केन्द्र), फिरफिरेवासी सम्पुर्ण बुवा आमा दिदिबहिनी दाजुभाइहरु प्रती सदैव आभारी छु । अन्तमा,मेरो पाँच बर्से कार्यकालमा प्राप्त गरेको मुख्य उपलब्धि भनेकै सिकाइ र अनुभव हो । यस बिचमा भएका केही कमिकमजोरीहरुलाई सुधार गर्दै मैले सुरु गरेको दीर्घकालीन योजनाहरु पूरा गर्नको लागि पुनः एक पटक तपाईंहरुको सेवा गर्ने निधो गरेको छु । यस बिचमा मैले प्राप्त गरेको अनुभव र इच्छाशक्तिलाई बिश्वास गर्दै समृद्ध फिरफिरे निर्माण गर्ने अभिभारा पुनः प्राप्त गर्नेछु भन्ने बिश्वास लिएको छु ।