दुलेगाैडा । शुक्लागण्डकी नगरपालिकामा मेयरका दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका मेयरका उम्मेदवार कमल गैरेले र जनता समाजवादी पार्टीका मेयरका उम्मेदवार पुण्यबहादुर हिराचनले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत लक्ष्मण लम्सालले जानकारी दिए ।
उनका अनुसार एकीकृत समाजवादीबाट उपमेयरमा उम्मेदवारी दिएकी रेखा थापा बस्यालले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । समाजवादीले मेयर र उपमेयरमा कांग्रेस माओवादीको गठबन्धनलाई सघाउनेछ ।
समाजवादी, कांग्रेस र माओवादीको शुक्लागण्डकी–११ मा तालमेल भएको छ । माओवादी र समाजवादीको वडा नम्बर ९ र १० मा तालमेल भएको छ ।
शुक्लागण्डकीमा कुल ३७ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । दुई मेयर, एक उपमेयर सहित १३ जना वडाध्यक्ष र २१ ज्ना वडा सदस्यले उम्मेद्वारी फिर्ता लिए । खुला वडा सदस्य १३ जना, महिला र दलित महिला ४÷४ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।
शुक्लागण्डकीमा २५२ जनाको मनोनयन दर्ता भएको थियो । गत आईतबार र सोमबार भएको मनोनयनमा नगरपालिकाको मेयरमा नौ जनाले मनोनयन दर्ता गराएको थिए । दुई जनाले फिर्ता लिएसँगै सात जनाको चुनावी भिडन्त हुनेछ । उपमेयरमा पाँच जनाको उम्मेद्वारी परेकामा अब चार जनाले चुनावी प्रतिष्पर्धा गर्नेछन् । शुक्लागण्डकीमा मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्य गरेर ६२ जना निर्वाचित हुनेछन् ।