दमाैली । तनहुँमा आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका ११५ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । शुक्रबार जिल्लाका १० स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
गत आइतबार र सोमबार भएको मनोनयन दर्तामा जिल्लाभर एक हजार ७५१ जनाले उम्मेदवारी दिएका थिए । अब जिल्लामा एक हजार ६३६ उम्मेद्वार भिड्ने भएका छन् । निर्वाचनबाट जिल्लाका १० स्थानीय तहको ८५ वडामा ४४५ जना मात्र जनप्रतिनिधि विजयी हुनेछन् ।
शुक्रबार १४ जना स्थानीय तहको प्रमुखका उम्मेद्वारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय तनहुँको प्रमुख हरि ढकालले जानकारी दिए । उनका अनुसार चार जना उपप्रमुखको उम्मेदवारी फिर्ता भएको छ । स्थानीय तहको प्रमुख बन्नलाई ७२ जना र उपप्रमुख बन्नलाई ५६ जनाले उम्मेदवारी दिएका थिए । शुक्रबारको उम्मेदवारी फिर्तासँगै प्रमुख पदमा ५८ जना र उपप्रमुखमा ५२ जना चुनावी मैदानमा भिड्नेछन् । ४६ जना वडाध्यक्ष, ३५ जना वडा सदस्य, महिला सदस्य १२ र दलित महिला सदस्य चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेकपा एकिकृत समाजवादीका कमल गैरे र जनता समाजवादी पार्टीका पुण्यबहादुर हिराचनको उम्मेदवारी फिर्ता भएको छ । उपमेयरमा एकिकृत समाजवादीकी रेखा थापा बस्यालले पनि उम्मेदवारी फिर्ता लिएकी छन् ।
व्यासको मेयरमा उम्मेदवारी दिएका नेकपा एकिकृत समाजवादी पार्टीका शंकरनारायण श्रेष्ठ र स्वतन्त्र उम्मेद्वारी दिएका वृषराज श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
भिमाद नगरपालिकाको मेयरममा कांग्रेसबाट उम्मेदवारी दिएका निरञ्जन खनालले फिर्ता लिएका छन् । उपमेयरमा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दर्ता गराएकी मधुमाया ढकालले पनि फिर्ता लिइन् । भानुको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हरिबहादुर क्षेत्रीको उम्मेद्वारी फिर्ता भएको छ ।
देवघाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका तीन जनाले फिर्ता लिएका छन् । माओवादी केन्द्रबाट शुसिला नेपाल, स्वतन्त्रबाट हिमालय पौडेल र सुकलाल गुरुङको उम्मेदवारी फिर्ता भएको छ । बन्दीपुरको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका मानकाजी श्रेष्ठ र केशव अधिकारी, घिरिङको अध्यक्षबाट माओवादी केन्द्रका हरिहर अधिकारी, म्याग्देको अध्यक्षबाट स्वतन्त्र उम्मेदवारी दिएका हिमकुमार मल्ल र आँबुखैरेनीमा स्वतन्त्र उम्मेदवारी दिएका कर्णबहादुर गुरुङले उम्मेदवारी फिर्ता लिएका छन् । बन्दीपुरको उपाध्यक्षमा एमालेबाट फुलमती थापा र स्वतन्त्रबाट लक्ष्मी गौतमको उम्मेदवारी फिर्ता भएको छ ।