दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ देवीटारमा यात्रुवाहक बसबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका–१२ बस्ने २० वर्षीय सहरे आलम र ओमसतिया गाउँपालिका–५ बस्ने ३६ वर्षीय सुनिल कोहार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
भैरहवाबाट पोखरा आउँदै गरेको लु २ ख ११०४ नम्बरको यात्रुवाहक बसमा सवार सहरे आलमले बोकेको कालो झोलाबाट लागुऔषध बरामद गरिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए।
प्रहरीले ब्रोनोरफाईन ४९ एम्पुल, फेनरागन ५० एम्पुल र डाईजोपाम ४८ एम्पुल गरी जम्मा एक सय ४७ एम्पुल लागूऔषध बरामद गरिएको छ ।
पक्राउ परेका विरुद्ध साेमबार जिल्ला अदालतमा आठ दिनकाे म्याद थप गरिएकाे छ ।