२९ मतदान केन्द्रमा मतपत्रसहित सामग्री पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    २९ मतदान केन्द्रमा मतपत्रसहित सामग्री पुग्यो

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७९, सोमबार

    दमाैली । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँका २९ मतदान केन्द्रमा मतपत्रसहित सामग्री पुगेको छ । देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका र भिमाद नगरपालिकाका २९ मतदान केन्द्रमा मतपत्रसहितका सामग्री पुगेको हो ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँका सहायक निर्वाचन अधिकृत कृष्ण गौतमले भौगोलिक दूरीले टाढा रहेका मतदान केन्द्रमा आज मतपत्रका साथ सामग्रीसहित कर्मचारी पुगेको जानकारी दिए ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र अन्य ६१ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयबाट उपलब्ध गराइएको छ । दश वटा पालिकाका २९७ मतदान केन्द्रमध्ये बाँकी मतदान केन्द्रमा भोलि सामग्री प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए। कार्यालयबाट मतपत्र बाहेक अन्य निर्वाचन सामग्री भने ५४ मतदान केन्द्रका लागि उपलब्ध गराइसकिएकाे छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र बुझेर आएका कर्मचारीलाई सामग्री वितरण थालिएको कार्यालय प्रमुख ढकालले जानकारी दिए। नियुक्तिपत्रलाई अनलाइन सफ्टवेयरमा प्रविष्ट गरेपछि आवश्यक सामग्री प्रदान गरिने उनले बताए।

    कार्यालयबाट ६१ प्रकारका सामग्री वितरण गरिएको छ । मतपेटिका, परिचयपत्र, लाहाछाप, स्ट्याम्पलगायतका सामग्री निर्वाचन कार्यालयबाट उपलब्ध गराइएको छ । निर्वाचन सामग्री बुझेपछि सुरक्षा निकायको निगरानीमा कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रसम्म लैजाने व्यवस्था मिलाइएको छ ।

    मतदान केन्द्रमा खटिने सबै कर्मचारी वैशाख २७ गते बेलुकासम्म सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नुपर्नेछ । मतदान केन्द्रमा पुगेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माण लगायतका काम हुनेछन् ।

    निर्वाचनमा खटिने एक हजार ४८५ मध्ये ८९१ कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति र तलबभत्ता उपलब्ध गराइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए।

    जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी दुई हजार ३७६ जनशक्ति परिचालन गरिनेछ । निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन हुनेछन् । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिएको छ ।

    तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेका थिए ।