दमाैली । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँका दुई सय ७२ मतदान केन्द्रमा मतपत्र, मतपेटिका सहितका सबै सामग्री पुगेको छ । जिल्लाका दुई सय ९७ मतदान केन्द्रमध्ये दुई सय ७२ मतदान केन्द्रमा मङ्गलबार रातिसम्म मतपत्र, मतपेटिका लगायतका ६१ निर्वाचन सामग्री सहित कर्मचारी पुगेका छन् ।
बाँकी २५ मतदान केन्द्रमा आज बुधबार मतपत्र, मतपेटिका लगायतका सामग्री पठाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदरमुकामबाट नजिकै रहेका मतदान केन्द्रमा मात्रै सामग्री र कर्मचारी पुग्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कृष्ण गौतमले व्यास नगरपालिकाका २१, ऋषिङ गाउँपालिकाका एक र म्याग्दे गाउँपालिकाका तीन मतदान केन्द्रमा मात्रै निर्वाचन सामग्री र कर्मचारी पुग्न बाँकी रहेको जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र उपलब्ध गराइएको छ भने जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका लगायतका ६१ सामग्री उपलब्ध गराइएको छ । निर्वाचन कार्यालयले भने दुई सय ९७ मतदान केन्द्रका लागि नै सामग्री प्रदान गरिसकेको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।
निर्वाचन सामग्री बुझेपछि सुरक्षा निकायको निगरानीमा कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रसम्म लैजाने व्यवस्था मिलाइएको छ । मतदान केन्द्रमा खटिने सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माण लगायतका काम हुनेछन् ।
निर्वाचनमा खटिने एक हजार चार सय ८५ मध्ये आठ सय ९१ कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति र तलबभत्ता उपलब्ध गराइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।
जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी दुई हजार तीन सय ७६ जनशक्ति परिचालन गरिएको छ । निर्वाचनका लागि दुई सय ९७ मतदान अधिकृत, दुई सय ९७ सहायक मतदान अधिकृत, पाँच सय ९४ सहायक, दुई सय ९७ सहयोगी परिचालन गरिएको छ । त्यसका साथै मतदान केन्द्रमा आठ सय ९१ कर्मचारी नियुक्त गरिएको छ ।
तनहुँका दुई लाख ४४ हजार तीन सय ४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार आठ सय ६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार चार सय ७१ मतदाता रहेका थिए ।