दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँले स्थानीय तह निर्वाचनका लागि लागु भएको मौन अवधिको पालना गर्न आग्रह गरेको छ । कार्यालयले बुधबार प्रेस विज्ञप्ती जारी गरी वैशाख २७ गते राति १२ बजेदेखि लागु भएको मौन अवधिको पालना गर्न आग्रह गरेको हो ।
राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता, २०७८ को दफा १६ मा भएको व्यवस्था बमोजिमका आचारसंहिता पालना गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए।
मौन अवधिभर निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठि नगर्न, मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन, कुनैपनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार नगर्न, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन रोक लगाइएको प्रशासनले जनाएको छ ।