दुलेगौँडा : तनहुँमा विहान ७ बजेदेखी उत्साहजनक रुपमा मतदान भईरहेको छ । जिल्लाको १० स्थानीय तह र वडाको नेतृत्व चयनका लागि मतदाताले विहानदेखी उत्साहजनक रुपमा सहभागिता जनाएर मतदान गरिरहेका छन् । ज्येष्ठ नागरिक, अपांग, अशक्त र बिरामीका लागि लाइनमा नबसीकन सिधैँ मतदान गर्न पाउने व्यवस्था मतदान केन्द्रमा मिलाईएको छ ।
आज भईरहेको मतदानबाट जिल्लाको १० स्थानीय तहको ८५ वडामा ४४४ जनप्रतिनिधि निर्वाचित हुनेछन् । एक हजार ६३५ जना चुनावी मैदानमा छन् । देवघाट गाउँपालिकामा एक जना वडा सदस्य निर्विरोध निर्वाचित भईसकेकी छन् । देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भएकी हुन् ।
जिल्लाका दुई लाख ४४ हजार ३४० मतदाताले आफ्नो गाउँ, नगर र वडा हाँक्ने जनप्रतिनिधि चयन गर्नेछन् । १३६ मतदानस्थलका २९७ मतदान केन्द्रमा शान्तिपुर्ण तरिकाले मतदान भईरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले जानकारी दिए । सरदरमा २५ प्रतिशत मत खसेको उनले बताए । ‘हरेक केन्द्रहरुमा २५ प्रतिशत मत खसेको रिपोर्ट पाएका छौँ’, उनले भने । साँझ ५ बजेसम्म मतदान जारी रहनेछ ।