दोस्रो पटक स्ट्रेचरमा आएर ९९ वर्षीय वृद्धद्वारा मतदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दोस्रो पटक स्ट्रेचरमा आएर ९९ वर्षीय वृद्धद्वारा मतदान

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०७९, बुधबार

    दमौली । व्यास नगरपालिका–८ का ९९ वर्षीय वृषसिं गरुङले दोस्रो पटक स्ट्रेचरमा आएर पुनः मतदान गरेका छन् । व्यास–८ रिस्तीस्थित गाविस भवन फेदी मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि सुरु भएको पुनः मतदानमा गुरुङले पहिलो मत हालेका हुन् ।

    स्थानीय तह निर्वाचन अन्तर्गत वैशाख ३० गते आयोजित मतदान कार्य निर्वाचन आयोगले रद्द गरी आजका लागि तोकेको थियो । उक्त दिन दिउँसो व्यास नगरपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएपछि निर्वाचन आयोगले मतदान रद्द गर्ने निर्णय गरेको थियो । उक्त दिन पनि गुरुङलाई स्ट्रेचरमा बोकेर ल्याएर मतदान गराइएको थियो ।

    लामो समयदेखि अशक्त गुरुङको हालै मात्रै प्रोष्टेटको शल्यक्रिया गरिएको थियो । उक्त मतदान केन्द्र गुरुङको घरदेखि दश मिनेटको दूरीमा अवस्थित छ ।

    गाविस भवन फेदी अन्तर्गत (क) मतदान केन्द्रमा सात सय ५६ र (ख) मतदान केन्द्रमा आठ सय २० मतदाता रहेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँले मतदान केन्द्रमा अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरेको छ । बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरिएको हो ।

    उक्त मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार र निजको प्रतिनिधि, निर्वाचनमा खटिएका कर्मचारी, अनुमति प्राप्त व्यक्ति वा संस्थाका प्रतिनिधि र सुरक्षामा खटिएका कर्मचारी बाहेक अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।