दमौली । स्थानीय तहको निर्वाचनबाट निर्वाचित पालिका प्रमुखले शपथग्रहण गरेका छन् । पाँच पालिकाका प्रमुखले बिहीबार मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गाना समक्ष शपथग्रहण गरेका हुन् ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले न्यायाधीश ढुङ्गाना समक्ष शपथग्रहण गरेका हु्न् ।
यसअघि देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले शपथग्रहण गरिसकेका छन् ।
स्थानीय तह निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष तथा नगरपालिकाका प्रमुखले न्यायाधीश समक्ष शपथग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ । यस्तै उपाध्यक्ष तथा उपप्रमुखहरुले सम्बन्धित पालिकाको अध्यक्ष र प्रमुखसँग शपथग्रहण गर्ने कानूनी प्रावधान छ ।
शपथग्रहण पछि मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले समृद्ध पालिका बनाउने अभियानमा लाग्न आग्रह गरे ।