दमौली । स्थानीय तह निर्वाचनबाट तनहुँमा नौ स्थानीय तहमा ३७३ जनप्रतिनिधि निर्वाचित भएका छन् । व्यास नगरपालिकामा मतगणना जारी रहँदा अन्य स्थानीय तहमा ती तहमा जनप्रतिनिधि निर्वाचित भइसकेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी उक्त सङ्ख्यामा जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी नेपाली कांग्रेसबाट १८२ निर्वाचित भएका छन् । नेकपा (एमाले)बाट १५१, नेकपा (माओवादी केन्द्र)बाट ३४, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक र स्वतन्त्रबाट पाँच निर्वाचित भएका छन् ।
कार्यालयका अनुसार नौ प्रमुख–अध्यक्ष, नौ उपप्रमुख–उपाध्यक्ष, ७१ वडाध्यक्ष, ७१ महिला सदस्य, ७१ दलित महिला सदस्य र १४२ खुला सदस्य निर्वाचित भएका छन् । व्यास नगरपालिकाबाट ७२ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
निर्वाचनबाट जिल्लामा कूल ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । कांग्रेसबाट पालिका प्रमुख–अध्यक्ष चार, उपप्रमुख–उपाध्यक्ष चार, वडाध्यक्ष ३५, महिला सदस्य ३३, दलित महिला सदस्य ३३ र खुला सदस्य ७३ निर्वाचित भएका छन् ।
एमालेबाट पालिका प्रमुख–अध्यक्ष चार, उपप्रमुख–उपाध्यक्ष दुई, वडाध्यक्ष २५, महिला सदस्य ३२, दलित महिला सदस्य ३२ र खुला सदस्य ५६ निर्वाचित भएका छन् ।
माओवादी केन्द्रबाट पालिका प्रमुख–अध्यक्ष एक, उपप्रमुख–उपाध्यक्ष तीन, वडाध्यक्ष सात, महिला सदस्य पाँच, दलित महिला सदस्य छ, खुला सदस्य १२ निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुला सदस्य एक जना निर्वाचित भएका छन् । स्वतन्त्रबाट वडाध्यक्षमा चार र महिला सदस्यमा एक जना निर्वाचित भएका छन् ।