दमौली । काठमाडौबाट जोमसोमका लागि उडेको नेपाली सेनाको हेलिकप्टर तनहुँको आँबुखैरेनी गाउँपालिकामा आकस्मिक अवतरण गरेको छ । आँबुखैरेनी गाउँपालिका–३ स्थित फ्युचर बोर्डिङ स्कूलको चौरमा आज बिहान ९ बजे नेपाली सेनाको हेलिकप्टर आकस्मिक अवतरण गरेको हो ।
मौसममा आएको खराबीका कारण हेलिकप्टर करिब आधा घण्टा आकस्मिक अवतरण भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक निरज डाँगीले जानकारी दिए ।
आधा घण्टा आकस्मिक अवतरणपश्चात् उडेको उक्त हेलिकप्टर अहिले बिहान ९ः४५ बजे दमौलीस्थित कालीभञ्जन गण (इ) मा पुनः अवतरण गरेको छ । मौसममा सुधार भएपछि उक्त हेलिकप्टर जोमसोमका लागि उड्ने बताइएको छ ।
तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौ लैजान सेनाको हेलिकप्टर जोमसोम जान लागेको हो । सोमबार दशवटा शव काठमाडौ लगिसकिएको छ ।