दुई दिने शिविरमा ७३ सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुई दिने शिविरमा ७३ सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०७९, शनिबार

    दमाैली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको दुई दिने शिविरमा ७३ सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ । शुक्रबार र शनिबार गरी ७३ कुकुरको बन्ध्याकरण गरिनुका साथै रेबिज विरुद्धको खोप लगाइएको छ ।

    शुक्रबार ३४ र शनिबार ३९ कुकुरको बन्ध्याकरण गरिएको छ । सन् २०३० सम्म कुकुरको टोकाइले हुने रेबिज रोगबाट मानिसको मृत्यु शुन्य पार्ने लक्ष्य सहित शिविर आयोजना गरिएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।

    शहरी क्षेत्रमा सामुदायिक कुकुरको सङ्ख्या बढ्न थालेपछि केन्द्रले बेला–बेलामा बन्ध्याकरण शिविर आयोजना गर्दै आएको छ । कार्यालयले गत माघ महिनामा गरेको शिविरमा दुई सय १९ कुकुरको बन्ध्याकरण गरिएको थियो ।

    पहिलो चरणमा व्यास नगरपालिकाभित्र रेबिज विरुद्धको खोप अभियान सञ्चालन गरिएको र विस्तारै अन्य स्थानीय तहमा पनि सञ्चालन गरिने डा. श्रेष्ठले बताए । “छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले कुकुरको सङ्ख्या घटाउनका लागि स्थायी बन्ध्याकरण अभियान चलाएका हौ,” डा. श्रेष्ठले भने ।