दमाैली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवाखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले आजदेखि दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो ।
बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आजदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द रहने मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) का आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए।
नियमितरुपमा सवारी साधान सञ्चालन हुँदा काम गर्न असहज भएकाले रातिको समयमा सडक बन्द गरी काम गर्न लागिएको उनले बताए ।सो समय अगाडि वा पछाडिमात्र उक्त सडकमा आवतजावत गरिदिन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
आयोजनाको पूर्वी खण्डतर्फ सडक चौडा बनाउने काम भइरहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । सडक विस्तार कार्यका लागि राजमार्ग आसपासका रुखहरु काटिएको छ । हालसम्म पूर्वी खण्डमा तीन हजार १४ रुख कटान भइसकेका छन् ।मुग्लिङ पोखरा सडक विस्तार कार्यअन्तर्गत पश्चिम खण्डबाट पनि काम सुरु भइसकेको छ । पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीले पाएको छ ।