विश्व वातावरण दिवस : जिल्लाभर राेपियाे विरुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विश्व वातावरण दिवस : जिल्लाभर राेपियाे विरुवा

    खबरपुञ्ज संवाददाता

    २१ जेष्ठ २०७९, आईतवार

    दमाैली । विश्व वातावरण दिवसको अवसरमा तनहुँका सबै स्थानीय तहमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालय लगायत सामुदायिक वनको सहभागितामा आइतबार सबै स्थानीय तहमा वृक्षारोपण गरिएको हो ।

    ‘पृथ्वीको संरक्षण ः दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारा सहित विश्व वातावरण दिवसको अवसरमा विभिन्न प्रजातिका विरुवा रोपिएको सव डिभिजन वन कार्यालय व्यासका प्रमुख एवं सहायक वन अधिकृत नारायण कोइरालाले जानकारी दिए ।

    डिभिजन वन कार्यालय र अकला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा उक्त वनमा चाप र तेजपातका विरुवा रोपिएको छ । कोइरालाका अनुसार २५ चाप र ३५ तेजपातका विरुवा रोपिएको छ ।

    वृक्षारोपण गर्दै व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले विरुवा रोप्नुका साथै संरक्षणमा पनि ध्यान दिनुपर्ने बताइन् । कार्यक्रममा सहायक वन अधिकृत काशीराज पण्डित, वडाध्यक्ष रमेशचन्द्र हड्खले लगायत सहभागी थिए ।

    यसैगरी देवघाट गाउँपालिकास्थित तीन वटा सामुदायिक वनमा विभिन्न प्रजातिका दुई सय विरुवा रोपिएको छ । कालिका सामुदायिक वन, चक्रवर्ती वन र सीता सामुदायिक वनमा विरुवा रोपिएको छ ।

    ऋषिङ गाउँपालिकास्थित शिशरामण्डली सामुदायिक वनमा खयर, शिशौ, बडहरको विरुवा रोपिएको छ । खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनी अड्डामा पनि सव डिभिजन वन कार्यालय शुक्लागण्डकीको सहयोगमा विरुवा रोपिएको छ ।

    जेसीआई व्यास नगरले व्यास–१ स्थित निर्मल माविमा पिपल, कपुर सहितका २५ थान विरुवा रोपेको छ । जेसीआई भानु नगरले भानु–२ स्थिथ शहिद उद्यानमा विभिन्न प्रजातिका ४५ विरुवा रोपण गरेको छ ।