म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मङ्गलबार भएको शिविरमा पाँच सय ६७ विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ । म्याग्दे–४ स्थित मिन माध्यमिक विद्यालयमा आयोजित नाक, कान, घाँटी र मुखको रोग सम्बन्धी शिविरमा पाँच सय ६७ विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको हो ।
परीक्षण गरिएकामध्ये ९८ जनालाई नाक, कान र घाँटीको समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए। त्यस्तै एक सय २३ जनालाई दाँतको समस्या देखिएको छ । सबैलाई उपचार र स्वास्थ्य सल्लाह प्रदान गरिएको घिमिरेले बताए।
शिविरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सबै पालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष बालकृष्ण घिमिरे, वडाध्यक्ष दीपक श्रेष्ठ लगायतले बाेलेका थिए ।
गाउँपालिकाले बुधबार म्याग्दे–२ स्थित राधा माध्यमिक विद्यालयमा पनि शिविर आयोजना गर्दैछ ।