भानु । तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहमा पक्की पुल निर्माण हुने भएको छ । सङ्घीय सरकारले उक्त ठाउँमा पक्की पुल निर्माण गर्न लागेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा उक्त ठाउँमा पुल निर्माण हुन लागेको हो । पुल निर्माणका लागि त्यहाँ डिपिआर निर्माण गरिने भएको छ । त्यसका लागि ३९ लाख बजेट विनियोजन भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
प्रत्येक वर्षको वर्षाका क्रममा चुँदीखोलामा आउने बाढीले उक्त ठाउँमा क्षति पुग्दा यातायात सञ्चालनमा अवरोध हुँदै आएको छ । आइतबारमात्र पनि उक्त ठाउँमा क्षति पुग्दा दिनभर यातायात अवरुद्ध भएको थियो ।