दमाैली । तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित गजुरे स्वास्थ्यचौकीमा कार्यरत अनमी २४ वर्षीया प्रजापति कुमाललाई कुटपिट गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ। पोखरा महानगरपालिका–२७ घर भई स्वास्थ्यचौकीमा कार्यरत कुमाललाई कुटपिट गरेको अभियोगमा व्यास–९ बस्ने अश्विना थापा गोदारलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक युवराज खड्काले अनमीमाथि कुटपिट गरेकाे अभियाेगमा निजलाई पक्राउ गरिएको जानकारी दिए।
स्वास्थ्यचाैकीकाे निवास बाहिर बोलाएर गोदारले आफूमाथि कुटपिट गरेको भन्दै प्रहरीमा मौखिक उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटसँगै ज्यान मार्ने उद्देश्यले घाँटी समेत थिचेको कुमालले बताइन् ।
कुटपिटबाट उनकाे अनुहार, टाउको र घाँटीमा चोट लागेको छ । उनकाे दमौली अस्पतालमा उपचार भइरहेको छ ।
घटना भएको थाहा पाउनेबित्तिकै कुमाललाई एम्बुलेन्समा राखेर दमौली ल्याइएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए।
स्वास्थ्यकर्मीकाे विराेध
यसैबीच अनमीमाथि भएकाे कुटपिटकाे जिल्लाका स्वास्थ्यकर्मीले विराेध जनाएका छन् । कार्यक्षेत्रमै रहेकाे बेला भएकाे कुटपिटले आफूहरुलाई दुखी तुल्याएकाे स्वास्थ्यकर्मीले जनाएका छन् ।
दिनरात नेपाल सरकारको विभिन्र अभियान, नियमित कार्यक्रमहरु तथा कार्यालय समय बाहेक पनि समाजको स्वास्थ्य स्थिति उकास्न कार्यरत स्वास्थ्यकर्मीमाथि भएको भौतिक आक्रमणको घोर भर्त्सना गर्दै दोषीमाथि कारवाहीकाे माग गरिएकाे छ ।