म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरबाट एक हजार ८३ विद्यार्थी लाभान्वित भएका छन् । स्वास्थ्य शाखाले मङ्गलबार र बुधबार दुई वटा विद्यालयमा आयोजना गरेको शिविरबाट एक हजार ८३ विद्यार्थी लाभान्वित भएका हुन् ।
म्याग्दे–४ स्थित मिन माध्यमिक विद्यालयका पाँच सय ६७ र म्याग्दे–२ स्थित राधा माध्यमिक विद्यालयका पाँच सय १६ विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए ।
मिन माध्यमिक विद्यालयमा आयोजित नाक, कान, घाँटी र मुखको रोग सम्बन्धी शिविरमा ९८ जनालाई नाक, कान र घाँटीको समस्या देखिएको छ । त्यस्तै एक सय २३ जनालाई दाँतको समस्या देखिएको छ । सबैलाई उपचार र स्वास्थ्य सल्लाह प्रदान गरिएको घिमिरेले बताए ।
राधा माध्यमिक विद्यालयमा आयोजित शिविरमा एक सय ३१ विद्यार्थीको दाँतमा समस्या देखिएकाले उपचार गरिएको छ । त्यस्तै ६९ जनामा नाक, कान र घाँटीमा समस्या देखिएको थियो ।