दमाैली । तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित गोरखकाली बोर्डिङ स्कूलमा अध्ययनरत ऋतिका दुरालाई धान कसरी रोपिन्छ भन्ने थाहा थिएन । टेलिभिजनबाट मात्रै धान रोपेको देख्नुभएकी उनले आफैले खेतमा पुगेर धान रोप्न पाउँदा मज्जा लागेकाे बताइन् ।
“रोपाइँको बारेमा त सुनेको थिएँ, तर आफैले खेतमा पुगेर धान रोप्न पाउँदा खुसी लाग्यो,” कक्षा ९ मा अध्ययनरत उनले भनिन्, “हिलाम्य खेतमा पुगेर साथीहरुसँग धान रोप्न पाउँदा केही सिक्ने अवसर मिल्यो ।”
कक्षा ९ मै अध्ययनरत प्रकृति गुरुङले पनि खेतमै पुगेर धान रोप्ने, धान झाट्ने र गोरुले खेत हिलाउने तरिकाबारे सिक्न पाउँदा खुसी लागेको बताइन्। “किताबी ज्ञानमात्र नभई बाहिरी कुरा पनि सिक्ने अवसर पाउँदा एकदमै खुसी लागेको छ, कसरी धान रोप्दा रहेछन् भन्ने जान्ने मौका पाएँ,” उनले भनिन् ।
राष्ट्रिय धान दिवसको अवसरमा बुधबार विद्यालयले म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीस्थित खेतमा लगेर विद्यार्थीलाई धान रोप्ने बारे सिकाएको हो । धान दिवसको बारेमा जानकारी गराउँदै प्रयोगात्मक ज्ञान सिकाउन विद्यार्थीलाई खेतमै पुगेर धान रोप्न लगाइएको विद्यालयका शिक्षक तीर्थ रानाभाटले जानकारी दिए।
पछिल्लो समयसहरी क्षेत्रमा बसोबास गर्ने बालबालिका धान रोपाइँ र खेतीपातीबारे बेखबर हुँदै गएकाले उनीहरुलाई प्रत्यक्ष प्रयोगात्मक अवलोकनका लागि धान राेपाइँमा सहभागी गराइएकाे उनले जानकारी दिए ।
“पढाईका साथसाथै प्रयोगात्मक ज्ञानबारे सिकाउन विद्यार्थीलाई खेतमा लगेर धान रोप्न, हिल्याउन, धान झाट्न सिकाएका हौ,” रानाभाटले भने । सो क्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत ८० जना विद्यार्थी सहभागी थिए ।