दमाैली । राष्ट्रिय धान दिवसको अवसरमा बुधबार आयोजित छिटो धान रोप्ने प्रतियोगितामा व्यास नगरपालिका–१ निवासी सविना थापा प्रथम भएकी छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँले व्यास नगरपालिका–१ अम्रेनीस्थित धान खेतमा आयोजना गरेको प्रतियोगितामा छिटो धान रोपेर थापा प्रथम भएकी हुन् ।
प्रतियोगितामा व्यास–१ कै सीता विक द्वितीय र व्यास–११ की नमूना क्षेत्री तृतीय भएकी छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु एक हजार पाँच सय, एक हजार र पाँच सय नगद पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका उपाध्यक्ष श्रीराम गन्धर्वले जानकारी दिए।
डोरी तान्ने प्रतियोगितामा पुरुषतर्फ द बुल्स जिम प्रथम र ट्याटु समूह द्वितीय भएको छ । महिलातर्फ थानीमाई आमा समूह प्रथम र नव आदर्श आमा समूह द्वितीय भएको छ । डोरी तान्ने प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच हजार र द्वितीय हुने समूहलाई रु दुई हजार पाँच सय नगद पुरस्कार प्रदान गरिएको छ ।
सो अवसरमा माछा समात्ने प्रतियोगिता समेत आयोजना गरिएको थियो । धान दिवस अर्थात् मानो खाएर मुरी उब्जाउने दिन प्रतिष्ठानले हिले प्रतियोगिता आयोजना गरिएको हो ।
धान दिवसलाई रमाइलो साथ मनाउने उद्देश्यले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेतमा धानको बीउ रोपेर कार्यक्रमको सुरुवात गरेका थिए ।