दमाैली । बुल्दीखोलाले बगाएर घाइते भएकी व्यास नगरपालिका–११ निवासी युविना थापाको उपचारमा सहयोग पु¥याउन दमौलीका युवाहरुले रकम जुटाएका छन् । गत असार २ गते बुल्दीखोलाले बगाएर पाठेघरमा काठको टुक्रा पसेपछि उपचाररत बालिकाको सहयोगार्थ युवाहरुले रु २२ हजार छ सय १० जुटाएका हुन् ।
सुमन सेन्चुरीको संयोजनमा जुटेको उक्त रकम बुधबार बालिका अध्ययन गर्ने विद्यालय बसन्त आधारभूत विद्यालयमा पुगेर हस्तान्तरण गरिएको छ । बालिकाको उपचारमा आर्थिक अभाव भएको जानकारी पाएपछि सेन्चुरीको संयोजनमा जिल्लाभित्रकै युवाहरुबाट रकम संकलन गरिएको थियो ।
नागरिकको भूमिका र मानवताका लागि सकरात्मक सन्देश प्रवाहका लागि रकम संकलन अभियान सञ्चालन गरिएको अर्का युवा अनुज विमलीले जानकारी दिए ।
ती बालिकाको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्थाका बारेमा सञ्चारमाध्यमबाट जानकारी भएलगत्तै सहयोग जुट्ने क्रम सुरु भएको छ ।
सोही वडाको बसन्त आधारभूत विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत थापाको खोलाले बगाउँदा गत असार २ पाठेघरमा काठको टुक्रा पसेको थियो । बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेको छ ।
बालिकाको उपचारार्थ आमा छुनुमाया थापाको नाममा एनएमबी बैङ्क लेकसाइड शाखामा खाता खोलिएको छ । सहयोग गर्न चाहनेले १४९०१८८२८५००००१९ खाता नम्बरमा सहयोग गर्न आग्रह गरिएको छ ।