दुलेगौडा । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित अव्यस्थित जग्गाको शुक्रबार निरीक्षण गरेका छन् ।
अव्यस्थित जग्गाको समस्या रहेको यस ठाउँको आयोगका अध्यक्ष निरौलाले स्थलगत निरीक्षण गरेका हुन् । सोक्रममा अध्यक्ष निरौलाले यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिएका छन् ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले अव्यस्थित बसोबासीको सम्बन्धमा अध्यक्ष निरौलालाई जानकारी गराए । साथै उनले अव्यस्थित बसोबासीलाई व्यवस्थित गर्ने प्रक्रिया अगाडी बढाउन आग्रह गरे।
शुक्लागण्डकीमा करिब पाँच हजार पाँच सय भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी छन् । विगत लामो समयदेखि आफूले भोगचलन गर्दै आएको भूमिको पूर्जा सिरानीमा राखेर निदाउने तनहुँको शुक्लागण्डकी नगरपालिकाको चाहना अझै पूरा हुन सकेको छैन । पटक–पटक लालपूर्जा पाउने आश्वासन पाएपनि त्यो सपना अधुरै छ । निर्वाचनका बेला भोट तान्न आश्वासन पाएपनि स्थानीयवासीले लालपूर्जा पाउन सकेका छैनन् ।
शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर २, ५, ६, ७ र ८ मा अव्यवस्थित, सुकुम्बासीको बसोबास अधिक छ । बस्तीमा सडक, बिजुली, खानेपानी, विद्यालय जस्ता आधारभूत विकास भएपनि पूर्जाविहिन हुनुको पीडाले स्थानीयवासी चिन्तित छन् ।