तनहुँका दश पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका दश पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

    खबरपुञ्ज संवाददाता

    १९ असार २०७९, सोमबार

    दमौली । स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुआत गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भत्ता उपलब्ध गराएको हो ।

    चार नगरपालिका र छ गाउँपालिकाका ४५४ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरणका लागि रु २७ लाख २४ हजार रकम प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार महिला स्वास्थ्य स्वयंसेविकालाई रु छ हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिनेछ ।

    “महिला स्वास्थ्य स्वयंसेविकाले गर्दै आएको कामलाई प्रोत्साहन दिन प्रदेश सरकारमार्फत प्रोत्साहन भत्ता उपलब्ध भएको छ, सबै पालिकामा पुगेर भत्ता वितरण गर्छौं”, उनले भने । कार्यालयले शुक्लागण्डकीका ५५ महिला स्वास्थ्य स्वयंसेविकालाई रु छ हजारका दरले रु तीन लाख ३० हजार वितरण गरिसकेको छ ।

    कार्यालयका अनुसार बन्दीपुरका २४, देवघाटका ३३, घिरिङका २७, ऋषिङका ४६, आँबुखैरेनीका २७ र म्याग्दे गाउँपालिकाका २६ सहित भानुका ७२, व्यासका ९७ र भिमाद नगरपालिकाका ४७ स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ ।

    उनीहरुले गाउँ–गाउँ, टोल–टोल पुगेर स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने, बालबालिकालाई खोप लगाउने काम गर्दै आएका छन् ।