


दमाैली । व्यास नगरपालिका नगर प्रमुख पदका उम्मेदवार दीपकराज जोशीले व्यास नगरपालिकाले आवश्यकता बिनाका ठूला संरचना केवल कमिशन खान बनाउन लागेको बताएका छन् । जोशीले बुधबार सामाजिक सञ्जाल मार्फत् उक्त कुरा बताएका हुन् ।
व्यास नगरपालिकाले बनाउन लागेको बहुउद्धेश्यीय भवन अनावश्यक रहेको उनकाे भनाई छ । ‘अहिले भाडा आइरहेको ठाउँलाई हटाएर २१ करोड बराबरको ऋण ८.५% मा लिएर फेरि अर्को भवन किन बनाउँनु पर्यो ?’
हाल व्यास नगरको आम्दानी २० करोड भन्दा कम भएको उल्लेख गर्दै जोशीले त्यसमा पनि स्थायी कर्मचारीको तलब ४ करोड ५० लाख र करार कर्मचारीको तलव ५ करोड १० लाख वर्षिक रहेकाे उल्लेख गरेका छन् ।
जाेशीले नगरपालिकामा विभिन्न आयोग गठन गरेर आफ्नो मान्छे भर्ती गरेर भर्ती केन्द्र बनाउन खोजेको आराेप लगाएका छन् । ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरू नगरपालिकामा मात्र होइन हाम्रो व्यास नगरपालिकालाई पनि छ छुट’ भन्दै उनले व्यङ्ग्य गरेका छन् ।